ह्याप्पी फादर्स डे!
"Not every hero wears a cape!"
'सबै हिरोहरू चादर ओढेर उड्दैनन्।'
आजकाल धेरै सुन्न पाइन्छ यो भनाई।
आफ्नो मनपर्ने खेलौना पाएपछि हाम्रो त्यो दुधे ओठबाट निस्केको एक मिठो मुस्कान, 'ताते-ताते' गर्दै बल्ल बल्ल उठाउन सकेको एक पाइला र जीवनको बोध नभएका ती आसै आसले भरिएका कलिला आँखाका चमकलाई जोगाउन हाम्रो हदेक बाधा-अड्चनलाई पन्छाउदै हाम्रो जिवन फुलै फुलको बगैंचा बनाउन थहा छैन कति काँडाहरू आफैँले समाउनु भयो होला। दुख्न त पक्कै दुख्दो हो, तर भुल्नु हुँदो हो ती सबै काँडाका घाउहरू जब हामी हाम्रो जिब्रो लर्बराउदै आफुले बोल्न सीकेको त्यो प्रथम शव्द उच्चारण गर्थ्यौं, "बाबा!"
हाम्रो सानो भन्दा सानो खुसीमा बाहिरबाट नदेखाए पनि भित्र भित्रै हामी भन्दा दोब्बर रमाउने र हाम्रो हरेक दुःखमा आफैँ भित्रभित्रै पुरै कुडिएपनि बाहिर एउटा मिठो मुस्कान तानेर हामीलाई सम्हाल्न र अघि बढ्न सिकाउने सुपरहिरो हो उहाँ।
यस्तो सुपर पावर हुन न कुनै माकुराले टोक्नुपर्छ न त कुनै बिकिरणले असर गर्नु पर्छ। जब कसैले अस्पतालको त्यो डेलिभरी रूम बाहिर,"यहाँ हेर त! तिम्रो बच्चा!" भन्दै आफ्ना ति कापीरहेका हातमा एक 'ह्वाँ-ह्वाँ' गर्दै रोइरहेको 'जिम्मेवारी','माया','आशा' र 'भविष्य' थमाइदिन्छ, तब आफैँ आउदोहो एक पितामा यो सुपर पावर खुसीका दुई थोपा आँसुका साथ।
बच्चामा होस या अलि ठूलो भएपछि, आफ्नो केही गल्तिको गाली खाने डरले नै पनि सबै कुरा खुलेर भन्न सक्दैनौं हामी बुबालाई। कुराकानी नै राम्ररी गर्न सक्दैन थिएँ म त। सानै देखी शान्त भएर आफ्ना मनका कुराहरू धेरै आफैँ सँग राख्ने गर्ने भएकाले उहाँलाई पनि गार्हो हुँदो हो सधैं मेरा मनमा खेलाएका सोचहरू बुझ्न र मेरा दुःखहरूमा लड्न मद्दत गर्न। त्यही पनि बुझ्नुहुन्छ सधैं हाम्रा आँखामा लुकेका भावहरू र मुस्कान पछाडि लुकेका दुःखहरू।
सबै कुरा आँउछ बाबालाई। हामीलाई ए बी सि डि सिकाउनु भएन कि,म्याथमा सबै टेबल र हिसाब सिकाउनु भएन! हाम्रा दुई हात समाएर हिड्न सिकाउनु भएन कि पछाडिबाट धकेल्दै धकेल्दै साइकल चलाउन सिकाउनु भएन! आफ्नै हातले समाउदै हामीलाई क ख लेख्न सिकाउनु भएन कि बिभिन्न किताब किनिदिएर,सम्मेलनहरूमा लगेर हाम्रो भाषा-साहितय प्रतिको रुचिलाई झनै प्रष्फुटन गर्न साथ र सहयोग दिदै आफ्नो रुचिलाई समय दिन सिकाउनु भएन! स्कुल शिक्षाका साथसाथै ब्यवहारिक शिक्षापनि उत्तिकै महत्वपूर्ण हुन्छ भनेर नसिकाउनु भएको भए अहिले परिवारबाट टाढा हुँदा कसरी सम्हालदो हुँ म आफैँलाई! सधैं सोच्ने गर्छु।
हाम्रो हर इसारा बुझ्नु हुन्छ बाबा। मानौ उहाँलाई हाम्रो मुहारका हरेक मांशपेसीहरुको गति कण्ठस्थ याद छ। अलिकति खुसी हुँदा पनि थाहा पाउनु हुन्छ, अलिकति दुःख पनि हाम्रो आखाँमा झल्केको भेट्टाइ हाल्नु हुन्छ, गल्ती गरेर केहि लुकाउन खोज्दापनि पत्तो लगाइ हालनु हुनछ र लुकिछिपी केही मस्ती गर्न खोज्दा पनि सुइँको पाइहाल्नु हुँदो रहेछ। आफ्नो सन्तानको अनुहार र मनका भावहरूपनि खुला पुस्तक जसरी पढ्ने सुपर पावर कुन म्युटेसनले दिन सक्ला र?
एक बच्चालाई आफ्नो सम्पूर्ण समय निर्धारण गरेर एक सहि मार्ग निर्देशन दिलाउदै त्यस पत्थरलाई पोलिस गर्दै गर्दै एक सुन्दर मोती बनाउनु भनेको कति ठूलो जिम्मेवारी हो,त्यो म आफैँ एक पिता नभएसम्म बुझ्न सायदै सक्छु होला; त्यही पनि,"छोरा! तँ पत्थर नै भइस भनेपनि यो पत्थरबाट कयौं शब्दले वर्णन गर्न नसकिने सुन्दर भवन बन्ने छन्! हरेस नखा, मलाई मोती चाहिँदैन!" भन्दै हाम्रा हरेक पाइलामा साथ दिदै, हरेक फैसला स्वीकार्दै, हाम्रो हरेक हारमा आशु पुछिदिदै, प्रोत्साहन गर्दै र हरेक जितमा साथ र अझै अगाडि बढ्न हौसला दिँदै कति सुन्दर रूपले आफ्नो काँधमा उठाउनु भयो जस्तो लाग्छ त्यस जिम्मेवारी, एक सुपरहिरो जसरी।
"समाजले के भन्ला!" कै डरले कति कलिला सपनाहरु तुईएर गएको सबैको आँखामा कुनै न कुनै समय प्रतक्ष भएकै होला। तर समाजको वास्ता नगरी, समाजका हरेक राम्रा र नराम्रा दुईटै पाटाका बारेमा बुझाउदै-सिकाउदै, हामी अबोधलाई बिभिन्न कुराको बोध गराउदै र बुझ्ने भएपछि के सही र के गलत हामी आफैँलाई छुट्याउन दिँदै आफ्नो जीवन कुन मोडमा चलाउने भन्ने स्टेरिङ व्हिल पनि हाम्रै हातमा पाउदा अनुभव भयो कि हामी कति भाग्यमानी छौं यस्तो अभिभावक पाउन।
समयका बेगसँग बग्दै जाँदा एक पिताबाट दाई र अझै पछि एक साथीको रुपमा परिणत हुनसक्ने र समय,हालत र परिस्थिति अनुसार पिताका साथसाथै माताको र त्यस्तै कहिले हामीलाई सबै कुराको ज्ञान दिने शिक्षक,कहिले आफ्ना सबै घाउ-चोटहरु 'छु मन्तर कि बाचा,पुच्छर भाको माछा!' भन्दै निको पारिदने डाक्टर, कहिले आफ्नो बिग्रेको खेलौना बनाइदिने इन्जिनियर, कहिले आफुलाई काँधमा चडाएर आकाश चुमाउने पाइलट, कहिले आफुले केही गल्ति गर्दा सम्झाउदै-बुझाउदै आफुलाई सहि बाटो देखाउन मद्दत गर्ने मार्गदर्शक, कहिले आफ्ना मनका कुरा सबै सुनेर ठिक सल्लाह सुझाव दिने थेरापिस्ट र सधैं सधैं हाम्रा हरेक पाइलामा हामीलाई हेर्दै, साथ दिदै आफ्नो बाटोबाट नहटि अझै अगाडी बढ्न प्रोत्शाहन दिने एक असल शुभचिन्तकको जस्ता बिभिन्न रूप धारण गर्न सक्ने मेरो सुपरहिरोलाई मेरो र चारू दुबैको तर्फबाट बुबाको मुख हेर्ने दिनको शुभकामना।
यस लेखको वाचन मेरो YouTube च्यानलमा हेर्नुहोस् - https://youtu.be/BMTWbygs4dM
Comments
Post a Comment