सपनाको खोजीमा ढाकाको जीवन
सम्झना, ११ फेब्रुअरी, सन् २०१७ को।
हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको तर्फ प्रस्थान गर्न हाम्रो रिजेन्ट एयरवेजको फ्लाइट उडान भरिसकेका भएतापनि मेरो मन भने अझै उडान भर्न चाहीरहेको थिएन। एउटा सुन्दर भविष्यलाई पिछा गर्दै मेरो शरीर जति उमंगका साथ त्यो ३० हजार फिट उचाईमा उडेर अगाडि बढिरहेको थियो, त्यति नै भारी हुँदै मेरो मन आफ्नी आमाका बिछोडका ती आँसु मै लुटपुटिदैं नेपालमै अड्किन खोजिरहेको थियो।
आफ्नी आमाको सम्झनामा केहीबेर बादलका बीचमा हराइसकेको मेरो मनलाई एयरहोस्टेसको घोषणाले झसङ्ग झस्कायो। अब केहीबेरमा बङ्गलादेशको राजधानी ढाकामा हामी अवतरण गर्न लागेका रहेछौँ। यसो झ्याल बाहिर तिर आफ्नो नजर घुमाएँ, सन्ध्यामा सजिएको त्यो सुन्दर झिलमिली ढाका शहरले हामीलाई न्यानो स्वागतम दिइरहेको थियो। जहाजबाट बाहिर निस्कनासाथ यो बिरानो ठाउँको तातो हावा र उष्ण गर्मीले पनि हामीलाई स्वागत गर्न भ्यायो।
केहीबेर विमानस्थलका प्रक्रिया पुरा गरी, कलेजले पठाएको गाडी चढी हामीले हाम्रो नयाँ जीवनको यात्रा सुरु गर्यौं। यस छोटो यात्रा मै पनी छिनछिनमा लागिरहेको त्यो लामो जामले हामीले सुरु गरेको त्यो लामो यात्रामा आउन सक्ने विभिन्न कठिनाइको आवास गराइसकेको थियो। करिब ४ घण्टाको जाम पछि हामी आफ्नो गन्तव्यमा पुग्यौँ। अलिअलि सामानहरु मिलाएर केहीबेरपछि खाना खाई यसो घडीमा हेर्दा रातिको २ बजिसकेको रहेछ, तर, झ्याल बाहिर हेर्दा भने अझै दिनको आभाष भइरहेको थियो। त्यो मध्यरातमा पनि सयौं मानिसहरुको घुइँचो, होटलहरुमा रहेका भीड, चारैतिर झिलिमिली बत्ती आदि-आदि। सायद त्यसैले होला ढाका शहरलाई "The City That Never Sleeps" भन्न मन लाग्यो। दिनभरको थकाई पश्चात त्यो अव्यवस्थित होस्टलमा विश्राम हेतु मैले एउटा बेड पाएँ र संयोगबस त्यो बेड नै मेरो मेडिकल जीवनको साथी बन्न पुग्यो। शरीर र मन दुइटै धेरै थाकेको भएर होला, बिछ्यौनामा पल्टिने बित्तिकै म भुसुक्कै निदाएछु।
भोलिपल्ट, कलेजको पहिलो दिन। प्रशासनका केही मानिसले हामीलाई कलेज र हस्पिटल घुमाए र साथै केही मेडिकलका नियम नीतिको बारेमा पनि अवगत गराए। कुन वार्ड कता हो, उनको कक्षा कता हो, हेर्दै, घुम्दा घुम्दै १ बजिसकेको थियो। सधैं बिहान ९ बजे खाना खाइ सक्ने हामीलाई आज भने अझै नाश्ता ले नै धानिरहेको थियो। त्यसैले ती मानिसले हामीलाई कलेज क्यान्टिन तर्फ मोडे, जहाँ मैले मेरो जीवनको प्रथम पल्ट केही seafood को स्वाद चाख्न पाएँ। यसले मलाई बङ्गलादेश नेपालजस्तो भूपरिवेष्ठित देश नभएको कुरा फेरि पनि याद दिलायो। हाम्रो नयाँ जीवनको त्यस नौलो दिन पश्चात हामी हाम्रो होस्टेल तर्फ लाग्यौँ र आगामी दिन हाम्रो orientation class पनि भयो, जसमा हामीले "Hippocratic oath" को साथ औपचारिक रुपमा हाम्रो मेडिकल जीवनको यात्रा प्रारम्भ गर्यौं।
बिहान ८ बजेदेखि सुरु हुने हाम्रो क्लासमा दिनचर्या मैले केही बेग्लै देखें। नेपालमा १०-११ बजेसम्म खाना खाइसकेका हुने हामीहरू, यहाँ दिउँसो १ बजे सम्म नास्ता र त्यस पछि मात्र खाना खान थाल्यौ। क्लास को पहिलो दिन अलिक अनौठो र अलिक उत्साहका साथ हामी कक्षा कोठा छिर्यौं, जहाँ केही बंगाली साथीहरु एक आपसमा बंगाली मै कुरा गरेको सुनेर नौलो नौलो र कुरा नबुझेको आभास भयो। तर बंगाली साथी तथा सर म्याडमहरुले देखाएको हामी नेपाली प्रतिको सद्भाव प्रति हामी सदैव आभारी रहने छौं। हामीलाई कुरा बुझ्न र सम्झाउन उहाँहरुले अंग्रेजी तथा हिन्दी भाषाको समेत प्रयोग गरी हामीलाई अनेक सहज बनाउन खोज्नु भयो तथा बांग्ला भाषा पनि बुझाउन र सिकाउन सहयोग पनि हामीले पायौं जसको परिणामस्वरूप " आम्रा भालो मतो बांग्ला बोल्ते आर बुझ्ते पारी। " हामी अब राम्ररी बांग्ला बोल्न र बुझ्न सक्छौँ ।
यस्तै केही दिन मेडिकल का विभिन्न विषयका बारेमा बुझ्दै गएँ र विस्तारै मेडिकल साइन्सको असली रुप पनि देख्न पाइयो। कसरी एउटा काठमाडौं शहरको राति १० बजे भित्र नै शैयामा पल्टिसकेको हुने केटो, अब रातिको २-३ बजे सम्म मानिसका अशली कंकाल र हड्डी च्यापेर, मनुष्यका विभिन्न अङ्ग, नशा नलीका बारेमा बुझ्ने प्रयास गर्दै थियो। त्यो पढाइको ठूलो चाप, भ्याइनभ्याई रहने तालिका, दिनचर्या, त्यो मानसिक तनाव, त्यो 'item' परीक्षाको पीडा, त्यो मनुष्यको लास (क्याडेभर) र तिनका विभिन्न अङ्गमा लत्पतिएका फर्मालिन, जसको झाँसले अझै पनि मेरो आँखा पोलेको आभाष हुन्छ। यही चाप र पढाइको समुद्री वेगमा तैरिदै, बग्दै केही समय पश्चात हाम्रो त्रैमासिक परीक्षा पनि सकियो र हामीलाई केही विश्राम गर्ने मौका पनि मिल्यो। त्यसबीच हाम्रो कलेज नजिकै रहेको धानमण्डी स्थित रवीन्द्र सरोवर, ' The Dhanmondi Lake' तिर घुम्न हामी निस्कियौँ।
धानमण्डि को मुटुमा रहेको रवीन्द्र सरोवर, साच्चिकै नै धेरै जनाको मुटुमा रहेको रहेछ भन्ने थाहा पाएँ। साना बच्चा देखि लिएर बुढा पाका सम्म, सबैको प्रिय रहेछ यो सरोवर। त्यहाँ पुग्नासाथ एउटा बेग्लै नै आनन्दमय, शान्त र मिठास को आभाष भइरहेको थियो। हरियालीले भरिएको त्यो ठाउँ, जसको बीचमा सजिएको एक विशाल तलाउ, तलाउमा चलिरहेका रङ्गीचङ्गी डुङ्गा र डुङ्गा मा रमाइरहेका थियौँ हामी। केही बेरको डुङ्गाको सयर पछि हामी त्यही रहेको विख्यात चिया पसलमा मसला चियाको स्वाद चाख्न पनि पुग्यौँ। चिया र चिकेन चपको असली स्वाद रवीन्द्र सरोवरमा साथीहरुको गफ सँग र त्यहाँ रम्न आएका जवानहरुको संगीत र गितारका धुन सँग आउँदो रहेछ। त्यो रमणिय वातावरणलाई छोडेर जानै मन नलागेपनि केही बेर पछि हामीलाई फर्किनै पर्यो। समय अलि विस्तारै नै जाओस् भनेर हामीले हिँड्दै नै फर्किने सोचका साथ ढाका सहरका ती अग्ला अग्ला अपार्टमेन्ट हाउजिङ, त्यहाँका सुन्दर र व्यवस्थित बाटो आदिको आनन्द लिन थाल्यौ। अलि अगाडि अचानक केही इस्लाम धर्मावलम्बीको घुइँचो मस्जिद अगाडि पूरै बाटो नै भरिने गरी मखमली कार्पेट बिछ्याएर नमाज पढिरहेको देखेर त्यो दिन शुक्रबार भएको याद आयो। शुक्रबार इस्लाम धर्मावलम्बीहरुका लागि एक महत्वपूर्ण दिन हो जसलाई "झुमे रात" भनिन्छ।
त्यस्तै केही दिन बित्दै गयो र हामी रमाइलोको हेतु चलचित्र हेर्न भनि त्यहाँ रहेको प्रख्यात Basundhara Complex पुग्यौं जहाँ मात्र हलिउड र केही बाङ्ला चलचित्रको पोष्टरहरु सजिएका थिए। बुझ्दै जाँदा यस देशमा बलिउड चलचित्रहरु निषेधित गरिएको रहेछ भन्ने कुरा थाहा पाए। त्यस पश्चात हामी त्यस समयको धेरै नै प्रख्यात चलचित्र "Avengers- Infinity War"को आनन्द लिन थाल्यौं र चलचित्र पछि केही पेटपुजाका निमित एउटा रेस्टुरेन्टमा पस्यौं जहाँ हामीले बंगालीहरूको एकदमै प्रख्यात र चलनचल्तीमा रहेको खाना, बिरियानी अर्डर गर्यौँ। नेपालमा म:म: भनेझैँ यहाँ बिरियानी एकदमै लोकप्रिय र सजिलै पाउन सकिने व्यंजन हो।
त्यसरी सुन्दर रुपमा आफ्नो दिन बिताइ सकेपछि त्यहाँबाट निस्की आफ्नो होस्टेलतिर लाग्न हामीले एक रिक्सा चालकलाई डाक्यौँ, जसलाई यहाँका मानिसले प्रायः 'मामा' भनेर सम्बोधन गर्दा रहेछन्। हामीले पनि ‘ मामा ‘ भनी सम्बोधन गरेर रिक्सा चढि ढाकाको जाम र भीडलाई पन्छिँदै, अगाडि बढ्दै गयौं जस बीच मैले बाटोमा हिँडडुल गर्दै गरेका विभिन्न मानिसहरु प्रति ख्याल गरे र यसो बुझ्दै जाँदा उनीहरूको पहिरन प्रति मेरो विचार अझै प्रष्ट हुँदै गयो। यहाँ विशेषगरी महिलाहरुले रङ्गीचङ्गी हिजाब र बुर्का प्रयोग गरी आफ्नो संस्कृति र सौन्दर्यलाई दर्शाउने रहेछन् भने पुरुसले धेरैजसो पाइन्ट- सर्ट, र दैनिक ज्याला रोजगारी गर्नेहरुले भने लुङ्गी प्रयोग गर्दारहेछन्। त्यस भीडमा सयौंको संख्यामा रहेेका रिक्सा र ती रिक्साका पाङ्ग्रा का बीच आपसी टकराव हेरि यस सहरलाई “The City Of Rikshaw” पनि भनेर सम्बोधन गर्न मन लाग्यो। जसोतसो हामी होस्टेल पुग्यौँ।
त्यस्तै दिन बित्दै गयो र पढाइको गतिले पनि तिब्र रूप लिइसकेको थियो। तर यस परदेशको बसाइ र पढाइको चापका विचमा पनि हामीलाई कहिल्यै पनि परदेशिएको आभास भने भएन। कारण, यहाँ हजारौंको संख्यामा रहेका हाम्रा नेपाली दाजुभाई, साथीसंगी तथा दिदीबहिनीहरु, जो विभिन्न विषयमा उच्चशिक्षा हासिल गर्न भनेर हामी जसरि नै विदेशिएका छन्। यही एक आपससँग भैरहने भेटघाट, आपसी मेलमिलाप र सदभावले गर्दा, नेपाली-नेपालीको बिचको सम्बन्धले प्रदेशमा आएर अझै बढी मिठास ल्याउँदो रहेछ भन्ने कुरा पनि मैले बुझ्न पाएँ। साथसाथै विभिन्न चाडपर्व तथा नयाँ वर्षको उपलक्ष्यमा नेपालीहरु द्वारा आयोजना गरिएका कार्यक्रमहरु मेरो जीवनका रमाइला पलहरु मध्येका एक हुन् जसमा विभिन्न कलेजहरुबाट सयौंको संख्यामा नेपाली विद्यार्थीहरु जम्मा भई आफ्नो संस्कृतिलाई परदेशमा पनि झल्काउँदै एकआपसमा रमाउने गर्दछन्।
यस शहरले र यस देशका नागरिकले हामी नेपाली लाई सहज तुल्याउन अनेकौं प्रयास गरिरहेका हुन्छन् र हामी नेपालीहरूको ‘अतिथि देव भव’ को प्रथा यता पनि देख्न पाइन्छ। यसको बाबजुद पनि हामीलाई केही समस्या भने भन्नु परेको छ। जस्तै शुरुवाती दिनहरुमा भाषा नबुझ्ने समस्या, उच्च जनघनत्व र जसकारण भएका फोहरमैलाका समस्या, फोहोर मैला र अव्यवस्थित बासस्थान र रोग नियन्त्रणका सिकार हाम्रै धेरै साथीभाईहरु पनि परेका छन्। उच्च जनघनत्व र यसले गर्दा बढेका महंगाई र त्यो भन्दा दोब्बर रूपले बढेको गरिबीका कारण भएका विभिन्न चोरीका समस्या हामीहरुले आफै पनि भोग्नु नपरेको होइन।
यति केही समस्याहरुमा अल्झिदै, बल्झिँदै, अगाडि बढ्दै र त्यहाँबाट सिक्दै गर्दा पाँच वर्ष पनि बितिसकेछ। आफ्नो गन्तव्यसम्म पुग्न अब केही कम खुट्किलाहरु मात्र रहेको सोच्दा एउटा छुट्टै किसिमको ऊर्जा, उत्साह र प्रेरणा बगेर आउँदछ मेरो मनमा। आशा छ, यी खुड्किलाहरु पनि सफलताको शिखर तिरै डोर्याउने छन् मलाई।
Comments
Post a Comment