रजस्वला र मेरी दिदी
रजस्वला र मेरी दिदी
घरमा आइ टोपल्नु भाथ्यो भनाउदा बुद्धिजीवी, ज्ञानी,
जुत्ता लगाई नै छिर्ने खालको रैछ सरको बानी,
कोट टाईको पहिरनमा मयल टलकेथ्यो टलक्कै,
शरीरको गन्ध पनि ठुस्सै , बसे म हल्का अलग्गै।
आदर्शवादी उनी, गफिए प्रगतिवादता खन्याउँदै,
सर-सफाइका कुरा सुनाए सिरलाई ख्वार ख्वार्ती कन्याउँदै,
समानताको विश्वासी, "मधिसे" लाइ हेप्या देख्दा मन घोच्छ रे
छोरीको एसएलसी सकिने बित्तिकै अनम्याइदिने सोच छ रे।
घाँटी सुक्यो क्यार बरा, दिदीलाई पानी ल्याइदिन अर्हाए उनी,
"रजस्वला चलेको रैछ" थाहा पाउँदा गिलास छुनै डराए उनी,
भर्खर सिँगान कोट्याको हातमा बिस्कुट लिए चियामा चोपाली,
सुनाउन थाले दिदीलाई आदर्श, आफू भलादमी टोपाली,
" किन ल्याइस पानी? तँ नछुने, तँ अशुद्ध छस्,
छोरी मान्छे धेर नउफ्रनु, टाढै कोठामै तँ मुग्ध बस।
नियम नमान्ने नकचरी तेरो धर्म नै पाे नास होला,
पापिनी भैजालिस, तेरो नरकमा नै बास होला! "
अझै के के सुनाए मेरी आमा बा लाई नी हकार्दै,
मेरी दिदीलाई फोहोरी भने भ्वाक्क पाददै र डकार्दै।
मयल टल्केको उनको, औंलामा लतका छ्न सिँगान सोहोरी,
त्यस्ताले कसरी भने मेरी सधैं नुहाउने दिदीलाई फोहोरी?
त्यही रजस्वला नभई जन्म नहुने अरे, जीवन सृष्टि भनेको त धर्म हो!
मेरी दिदी कसरी भई पापिनी? के रजस्वला कुकर्म हो?
मेरी बिचरी दिदी त्यसदिन भैछे कसरी नकचरी
आगन्तुकको सत्कार गर्नु पनि छाडा भो खै कसरी!
अचम्म त त्यो भन्दा पनि मेरा बा आमाको लाचारता थियो,
उहाँलाई छोरीको भन्दा पनि आफ्नो " नाक " को माया बर्ता थियो,
माने मैले छैनन् आजकल घरमा अछुतो र छाउपडी,
तैनी किन मौन छन् हाम्रा कृष्ण जब हरिदै छिन् द्रौपदी?
जीवन दिने सासै पनि ५ सेकेन्डमै नफेरी टर्दैन
भने समय अनुसार नै रीति हरु पनि फेर्नु पर्दैन?
आफ्नी छोरी प्यारिलाई पापिनी भन्दा कुन बाउले दारा नकिटला
आफ्नी छोरी नकचरी सुन्दा कुन आमाको मुटु नफुटला
परिवर्तन गर्न खोज्दै पनि किन मौन छन् मेरा बा आमा?
त्यस्ता भनाउदा प्रगतिवादी लाई किन मिकाइदिदैनन हावामा?
बदलिन सक्दैनौं भने समय सँगै, मिलकाईदेऊ फोन र टिभि लाई,
गाडी चढ्ने पनि अधिकार छैन यस्ता बुद्धिजीवीलाई,
होइन भने नगर हेला, आफ्नो सोचलाई निखार,
र रजश्वला लाई पाखा हैन, काखमै स्वीकार।
- पीयुष बराल
यस कविताको कवितावाचन- यहाँबाट हेर्नुहोस् https://youtu.be/Uhnr70nqKzY
Comments
Post a Comment