Happy Birthday Charu!
एउटा साधारण दिन जिउँदै छु म। यो दिनमा केहि खास छैन तर खै कस्तो एउटा मिठास छ। म मेरो घरमा छु, पल्टी रहेको छु मेरै खाटमा, ल्यापटप चलाउँदै, हेर्दै छु एउटा इङ्लिस मुभी, त्यसको सब्टाइटल छैन। मेरै छेउमा चारु पनि छ, १-१ मिनेट को अन्तरालमा भिडियो रोक्न लगाउँदै, बुझेका डाइलगहरु पनि मलाई irritate गर्न कै लागि किन नहोस्, बुझाउन भन्दै छ। म पनि आँखा तर्दै, बुझाउँदै छु सिम्पल ब्रिटिश एक्सेन्ट का शब्दहरु। हामी दिदी भाई पहिलै देखि यसरी नै मुभी हेर्ने गर्थियौं । मलाई भाषा र त्यसको बनोट माथी रुचि बस्नुमा केही हद सम्म चारुको पनि ठूलो हात छ जस्तो लाग्छ। केही क्षण पछि अर्को झलकमा पुग्छु। हामी रेस खेल्न थालेका हुँदो रहेछौँ , दुवैको हातमा किताब छ, कसले आफ्नो नोभेल अगाडि पढेर भ्याउँछ भन्ने रेस। उसका तिब्रताका साथ पल्टिरहेका पाना देखेरै मैले बुझिसकेको छु कि आज पनि म यो रेस हार्दै छु। नौलो केही छैन यो दिन मा, हिजो पनि यस्तै नै रह्यो, आज पनि यस्तै नै गइरहेको छ, र भोलि पनि यस्तै जाने छ, एकनासे, यही बकम्फुसे दिदी सँग, जस्तै लाग्छ। तर एउटा बेग्लै किसिमको आनन्द छ किन हो, सधैं झै नै बितेको छ आजको दिन पनि जस्तो लाग्छ, त्यही पनि मनमा एउटा आभास छ कि मैले यस्तो दिन थाहा छैन कहिले देखि धेरै मिस गरीरहेको थिएँ।
यतिकैमा यो आभास बिस्तारै मेरो मनमा एउटा ट्युमर जसरी बढ्दै जादो रहेछ र यो नौलो बेचैनी भारी ढुङ्गा जसरी मुटुमा भार थुपार्दो रहेछ। म झल्याँस्स बिउँझिन्छु, ट्रकको पैया मुनि थिचिए जस्तो एउटा भारी छाती बोकेर। आँखामा के यी मेरा आँशु हुन? होइन, ती त कहिले सुकिसके पत्तै छैन। खुट्टाले खाट वरिपरि छाम्छु, पसिनाले भिजेका छन्, मायाले कपाल मुसार्दै नरम ती गाला सुम्सुम्याउन आतुर यी हातलाई हेर्छु, खस्रा घाटे दाउरा बोक्दा उठेका खिल भेट्छु। पुतली जसरी सजाई डोलीमा बोक्ने सपना देखेका यी काध अझै उसका आत्माहिन शरीर बोकेको भार बिर्सिन सकेका जस्ता लाग्दैनन्।
एउटा साधारण जस्तो लाग्ने, हाँसी खुशीका दिन पनि सपना मै सिमित भएछ। यस्तो मिठो सपना छाड्न मन छैन मलाई। फेरी सुत्न खोज्छु। वास्तविकतामा घुसिसकेको यो मस्तिष्क लाई फेरी सपनामा भुलाउन कहाँ सजिलो छ र! वास्तविकता कै सोचमा हराउन खोज्दो रहेछ। "यु एस बांग्ला" दिमागमा ल्यान्ड गर्न खोज्छ, म ल्यान्ड हुन दिन्न।
सधैं हुने गफहरु याद आउँछ, जबर्जस्ती 1st year मा नै सर्जरी, मेडिसिन पढाको याद आउँछ। मेरा गल्तीहरुमा गाली गरेको याद आउँछ र मेरा हरेक काममा साथ र प्रोत्साहन गरेको याद आउँछ। मेरा लेखहरु हुन कि, चित्रकला हुन, गीत गाएको होस् कि नाचेको होस् वा सानो भन्दा सानो एडिट नै किन नहोस्, जति सुकै नौलो वा हाउडे काम गरे पनि प्रथम कमेन्टमा चारुलाई नै देख्थे। मेरा पोस्टहरु अरु कसैले हेरोस् की नहेरोस्, चारुले हेरे पुग्छ मलाई।
सधैं जबर्जस्ती का तिम्रा हाउडे कमेन्टले भरिने मेरा ब्लग, YouTube पनि सुनसान देख्दा खुसी लाग्थेन,केही कृति/लेख राम्रो सँग लेख्न छाडेको पनि धेरै समय बितिसकेछ दिदी! यो पोष्ट पनि धेरै दिन देखी लेख्न मन थियो, अस्तिको जन्मदिन, रक्षाबन्धन, भाइटीका, अन्य धेरै मौका थिए, कलम उठाउने हिम्मत नै आएन। कलम समाएर कापी सम्म पुगुन्जेल नै दिमाग खाली भइसकेको हुँदो रहेछ।
I promised I will stay the same clumsy,weird brother you always loved, and I will keep my promise to you.। साहित्य माथि रुचि बसाउने मलाई तिमीले नै हौ, जति नै नराम्रो लेखेपनि म लेख्न छाड्ने छैन, I promis. Happy birthday charu didi. Love you heaven and back.
Comments
Post a Comment